नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय

केन्द्रभाग मिडिया

काठमाडौं ।

यहि फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुको शपथ चैत १२ गते गर्ने तय भएको छ ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दै सांसदहरुको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय भएको जानकारी दिएको छ । शपथका लागि तोकिएको मितिभन्दा अघिल्लो दिन आएर शपथको व्यहोरासम्बन्धी फारम भरेर बुझाइदिन सचिवालयका तर्फबाट दलहरूलाई आग्रह गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।

सचिवालयले दलका कार्यालय कहाँ रहने भन्ने जानकारी दिएर दलका प्रतिनिधिहरूलाई त्यो कार्यालयमा रहने सचिवालयका कर्मचारीहरूसँग समन्वय गराइदिएको छ ।सचिवालयले आज ३ विषयमा परामर्श गरेको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बिहीबार दिउँसो ३ विषयमा सचिवालयले परामर्श गरेको हो ।

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले मुख्यगरी राजनीतिक दलका प्रतिनिधिहरूसँग ३ विषयमा परामर्श गरिएको जानकारी दिए ।प्रवक्ता गिरीका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ, संसदीय दलको व्यवस्थापन र सांसदहरूलाई अभिमुखीकरणका विषयमा परामर्श गरिएको हो ।

परामर्श छलफलमा दलका प्रतिनिधिहरूले सांसदहरूलाई अभिमुखीकरणको आवश्यकता रहेको बताएका थिए । त्यो अभिमुखीकरण कार्यक्रम सचिवालयले थप परामर्श गरेर निक्यौल गर्ने जानकारी गराइएको प्रवक्ता गिरीले बताए ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले सांसद जितेर प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, कांग्रेसका तर्फबाट मोहन आचार्य, एमालेका तर्फबाट गुरु बराल तथा नेकपाका तर्फबाट रमेश मल्ल सहभागी थिए ।

  • ५ चैत्र २०८२, बिहीबार १६:२६ प्रकाशित