आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू कडा प्रतिवादमा उत्रने

केन्द्रभाग मिडिया

काठमाडौं ।

धादिङ जिल्लाका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले कानुन विपरीत दिने निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने घोषणा गरेका छन् ।केहि दिन अगाडी धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले दिएको निर्देशन प्रतिलक्षित गर्दै धादिङका पालिकाहरूले विरोध जनाएका हुन् ।

धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई निर्देशन दिँदै आएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत समेत आफूले स्थानीय तहलाई निर्देशन दिएको जानकारी गराएकी छिन् ।

बेनीघाट रोराङ गाउँपालिका–९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको भन्दै उक्त कार्य तत्काल रोक्न निर्देशन दिएकी थिइन् ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले सांसदहरूबाट हुने हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको निष्कर्ष निकाल्दै यसको विरुद्धमा उभिने निर्णय गरेको हो ।

संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहका जनप्रतिनिधिहरूले नवनिर्वाचित सांसदहरूबाट संविधान र कानुनको भावना विपरीत विभिन्न निर्देशनहरूप्रति गम्भीर आपत्ति जनाएका हुन् । सांसदहरूको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय धादिङमार्फत पत्र आएको भन्दै स्थानीय सरकारको संवैधानिक अधिकारमाथि अङ्कुश लगाउने प्रयास भएको स्थानीय निकायहरूको बुझाई छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं कानुन विपरीत जारी भएका निर्देशनहरू र प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्यको यो बैठक कडा प्रतिवाद गर्दछ ।’

संविधानको अनुसूची ८ ले स्थानीय सरकारलाई दिएको अनन्य अधिकारहरू प्रयोग गर्नमा बाधा पुर्‍याउने गरी कर्मचारीतन्त्र वा माथिल्लो तहका जनप्रतिनिधिले गर्ने कुनै पनि आदेश स्वीकार्य नहुने उनीहरूको अडान छ ।

  • ५ चैत्र २०८२, बिहीबार १४:१६ प्रकाशित