कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ ।

थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् ।
शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको गगन थापा सहभागी नहुने एक नेताले बताए । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको बताइएको छ ।

कांग्रेसले सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर निर्वाचनमा विजय–पराजय दुवैको कारणसहित रिपोर्ट पेस गर्न भनेको थियो । प्राप्त भएका रिपोर्टको साझा निष्कर्ष समेत उपसभापति शर्माले बैठकमा जानकारी गराउने बताइएको छ । त्यसपछि बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने तयारी गरिएको कांग्रेसका एक पदाधिकारीले बताए ।

गगनले निर्वाचनमा पराजित भए लगत्तै राजीनामा दिन खोजे पनि उपसभापति विश्वप्रकाश शर्मा लगातयतका नेताहरुले रोकेका थिए । ललितपुर लगायतका विभिन्न जिल्लाका नेताहरुले राजीनामा दिन नहुने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । तर बुधबारको शीर्ष तहका नेताहरुको बैठकमा थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएका छन् ।

  • ५ चैत्र २०८२, बिहीबार ११:३९ प्रकाशित