चिसो छल्न बेसी झरेका उपल्लो मुस्ताङवासी गाउँ फर्किन थाले

केन्द्रभाग मिडिया

मुस्ताङ ।

कठ्याङ्ग्रिँदो चिसोका छल्न घरमा ताल्चा लगाएर बेंसी झरेका उपल्लो मुस्ताङबासी पुन गाउँ फर्किन थालेका छन् । मुस्ताङबासी गाउँ फर्किन थालेपछि गाउँमा पुनः चहलपहल बढ्न थालेको छ।

चिसो घटेसँगै लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा विकास निर्माण तथा समुदायस्तरका कार्यक्रम पुनः सञ्चालन हुन थालेका छन्। गत मङ्सिर र पुस महिनामा यी क्षेत्रका अधिकांश स्थानीय गाउँ छाडेर बेंसी झरेका थिए। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न फर्किएका स्थानीय त्यसपछि नियमित रूपमा गाउँ फर्किन थालेपछि रोकिएका कामहरू सुचारु हुन थालेका छन्।

उपल्लो मुस्ताङमा एकबाली खेती हुने भएकाले गाउँ फर्किएका स्थानीय अब खेतबारीमा पनि व्यस्त हुन थालेका छन्।अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले समुदायस्तरका कार्यक्रममा स्थानीयको सहभागिता बढ्न थालेको बताउनुभयो।

चालु आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट स्वीकृत निर्माणाधीन योजनासहितका कार्यक्रमहरू जाडोयाममा रोकिएका थिए। अब बाँकी चार महिनामा ती कामहरू तीव्र रूपमा अघि बढाइने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मौसममा सुधार आएपछि पर्यटकको आवागमन पनि बढ्न थालेको छ।चिसो छल्न बेंसी झरेकामध्ये केही स्थानीय भारतसम्म पुगेर घुम्ती व्यापारमा संलग्न हुने गरेका छन्। उनीहरू वैशाख महिनामा मनाइने मुख्य पर्व ‘तिजी’ का लागि गाउँ फर्किने गर्छन्।

उपल्लो मुस्ताङमा फागुन, चैत, वैशाख तथा असोज, कात्तिक र मङ्सिर मुख्य पर्यटकीय सिजन मानिन्छ। यी समयमा स्वदेशी तथा विदेशी पर्यटक कोरला नाकासम्म पुग्ने भएकाले चाप बढ्ने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताए।

त्यसैगरी, चिसोका कारण बालबालिकाको पठनपाठन प्रभावित हुने र रोगको जोखिम बढ्ने भएकाले सञ्चालन गरिएका घुम्ती विद्यालयहरू पनि चैत महिनामा एसइई तयारीसँगै पुनः नियमित सञ्चालनमा आउने जिल्ला शिक्षा तथा समन्वय इकाईले जनाएको छ।

  • ४ चैत्र २०८२, बुधबार १२:१७ प्रकाशित