फोहोर नियमित उठ्छ, सार्वजनिक स्थलममा नफालिदिनुहोला : मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरमा विवादका कारण उठन नसकेको फोहोर यही १ चैत देखि नियमित उठ्न थालेको छ । फोहोर व्यवस्थापनको दीर्घकालिन समाधानको उपाए स्वरुप अत्याधुनिक फोहोर प्रसोधन केन्द्र निर्माणको योजना अगाडि बढाएको महानगरले अल्पकालिन रुपमा फोहोर व्यवस्थापनका लागि सहमति जुटेसंगै नियमित फोहोर उठन् थालेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले अब बाटो र सर्वजनिक स्थलमा जथाभावी फोहोर नाफाल्न महानगरवासीलाई आग्रह गरेका छन् । पोखराको सबै फोहोर बुधबार साँझसम्म उठिसक्ने प्रमुख आचार्यले जानकारी दिए ।

त्यसपछि सार्वजनिक ठाउँमा फोहोर नफाल्न उनले आग्रह गरेका छन् । एक सय भन्दा धेरै कर्मचारी सडकमा सरसफाइमा रहेको भन्दै उनले सफाई कर्मचारीलाई सहयोग गर्न सबैमा आह्वान समेत गरेका छन् । आफ्नो घर र पसल सफा गरेर निस्केको फोहोर संकलन गर्ने र फोहोर बोक्ने गाडी आउँदा दिएर सहयोग गर्न उनको आग्रह छ । ‘बुधबार साँझसम्म सबै फोहोर उठीसक्छ ।  घरघरमै फोहोर बोक्ने गाडी आउँछन् । जथाभावी फोहोर नफालिदिनुहोला’ उनले भने ।

प्रमुख अचार्यले बीचमा नियमित फोहोर उठ्न नसकेकोमा महानगरको तर्फबाट क्षमा समेत मागेका छन् । अब निरन्तर फोहोर उठ्ने जानकारी दिएका उनले सार्वजनिक स्थलमा फोहोर फालेमा कानुन बमोजिम कारबाही हुने पनि प्रस्ट पारेका छन् । नालामा फोहोरका पोका र कवाडी समान घुसाउँदा सहजढंगले पानीको निकास नहुँने हुँदा त्यसो नगर्न समेत आग्रह गरेका छन् ।

 

 

  • ३ चैत्र २०८२, मंगलवार २०:१३ प्रकाशित