काठमाडौं ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । एमाले नेतृत्वलाई मंगलबार आफ्नै निवास बालुवाटार आमन्त्रण गरेर उनले धन्यवाद दिएकी हुन् ।
प्रधानमन्त्री काकीलाई भेट्न नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए । उनले भनिन्, ’यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’
उनले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई शान्त्वना पनि दिइन् । उनले भनिन्,‘ एकैपटकको जनमतले सधैँका लागि पार्टीहरुको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरुका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।’
एमाले नेताहरुले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनी नेतृत्वको सरकारलाई बधाई दिए ।













