पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् ।
सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन ।
आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने अवस्था आएको छ । सडक आयोजनाले काम गर्ने क्रममा कतै पोल गाडिएको ठाउँलाई छाडेर चारैतिर कालोपत्र गरिसकेको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ । कतिपय ठाउँमा पोल गाडिएको चारैतिरको भाग खनेर पोलमात्र अलपत्र पारिएका कारण दुर्घटनाको जोखिमसमेत उच्च भएको छ ।
सडक विस्तारका क्रममा सार्नुपर्ने बिजुलीका पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्नेगरी सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश प्रादेशिक कार्यालयबीच सम्झौता भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । प्राधिकरणले पोल सार्न ठेकेदारलाई जिम्मा दिएको र ठेकेदारले काममा ढिलाइ गरेको हो ।पूर्वी खण्डमा सार्नुपर्ने करिब ५०० पोलमध्ये अब करिब १०० जति पोल सार्न बाँकी छ, तर तिनै पोलका कारण मुख्य खण्डको काम प्रभावित भएको पूर्वी खण्डका इन्जिनियर ओझाको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश, प्रादेशिक कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने पोल सार्न ढिलाइ नगरेको र काम भइरहेको दाबी गरे । “काम भइरहेकै छ, व्यावहारिक कठिनाइ हो । ठेकेदारसँग बुझेर मात्र थप कुरा भन्न सकिन्छ”, उनले भने। काम गर्ने निकायहरूबीचको समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना त्यसमाथि पनि राजमार्गजस्तो संवेदनशील क्षेत्रमा विकासको काममा अवरोध पुग्नुका साथै यात्रा जोखिम बन्दै गएको छ ।रासस














