हुरीबतासले रुख ढल्दा उदयपुरमा दुई जनाको ज्यान गयो, ६ घाइते

केन्द्रभाग मिडिया

उदयपुर।

उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर ज्यान गएको छ ।

यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको छ ।

हुरीबतासकै कारण घाइते हुनेहरुमा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार रहेका छन् ।

घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र अर्का २० वर्षीय कमलाकुमारी पुलामी मगरलाई विराटनगर रिफर गरिएको प्रहरीले बताएको छ । अन्य चार जनाको सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ गरिएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि कटारी अस्पतालमा ल्याइएको र अहिले परीक्षणको तयारी गरिएको सूचना अधिकारी थापाले बताए ।  हुरीबतास र वर्षाको कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाएको र सामान्य क्षति भएको विवरणहरू प्राप्त भइरहेको प्रहरीले जनाएको छ ।रासस

  • ३ चैत्र २०८२, मंगलवार ११:२५ प्रकाशित