२१ औं संस्करणको खुला प्याराग्लाइडिङ च्याम्पियनसिप ५ चैतदेखि

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा हुँदै आएको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही ५ चैत देखि ७ चैतसम्म हुने भएको छ । देशकै पर्यटकीय राजधानी पोखरामा ‘एक्युरेसी’ विधामा हुने प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० खेलाडीले नाम दर्ता गराएका आयोजक संस्थाले सोमबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको छ ।

प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईका अनुसार प्रतियोगितामा सहभागी खेलाडी पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोँदीमा अवतरण गर्नेछन् । कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘सोलो’ उडानमा रोक लगाएका कारण पाँच वर्षपछि यो प्रतियोगिता हुन लागेको हो । २०औँ संस्करणसम्म भएको च्याम्पियनसिप स्थगित भएको थियो ।

पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाएपछि प्रतियोगिता स्थगित भएको संयोजक भट्टराईले बताए । नेपालले १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जित्न सफल भएको थियो ।

नेपाल च्याम्पियनसिपको निरन्तरताका कारणले नै देशले खेलकुदमा सो उपलब्धि हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताए ।

च्याम्पियनसिपमा पुरुषतर्फको एक्युरेसी विधामा च्याम्पियन हुनेले एक लाख ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरी द्वितीय हुनेले एक लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् र तृतीय हुनेले ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । महिलातर्फ च्याम्पियनले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

त्यसैगरी, टिम ओभरअल विधामा पहिलो हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार पुरस्कार पाउने नाका महासचिव बलराम आचार्यले जानकारी दिए । च्याम्यिनसिपमा मौसमको अवस्था महत्त्वपूर्ण हुने भएकाले उडान अघि आधिकारिक मौसम पूर्वानुमान अध्ययन गरेर मात्र खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • २ चैत्र २०८२, सोमबार २१:१७ प्रकाशित