काठमाडौं ।
सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग गर्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ।
काठमाडौंको माइतीघर मण्डलामा उनको न्याय माग गर्दै दलित जेनजी अलाइन्सले प्रदर्शन गरेको हो । इनिशालाई न्याय दे भन्दै विद्यालय ड्रेसमै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा ‘इनिशा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले फरेन्सिक रिपोर्टको प्रतिक्षा गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएको छ ।













