काठमाडौं ।
प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसिरहेको हो ।
दिउँसो १ बजेका लागि डाकिएको बैठक खराब मौसमबिच एक घण्टा ढिला गरी सुरु भएको हो । बैठकले समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ ।
यसअघिको निर्वाचनको पहिलो दल कांग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ ।
कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन । कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले आज समानुपातिकको नाम टुङ्गो लगाइने बताए । उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुङ्गो लगाइने रहेको बताए ।













