पोखरा ।
शनिबार राति गोरखामा भएको सवारी दुर्घटनामा परेर सात जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने सबै भारतीय नागरिक भएको खुलेको छ । मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस गएराति गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरतबहादुर बिकका अनुसार दुर्घटनामा परेर अन्य सात जना गम्भीर घाइते भएका छन् ।
माइक्रोमा सवार १४ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरु सबै भारतीय नागरिक भएका बिकले बताए । ज्यान गुमाउने मध्ये ५ जना पुरुष र २ जना महिला छन् । घाइते सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गाडी अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडीका चालक र सहचालकबाहेक सबै भारतीय नागरिक हुन् । ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी छ ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाबाट सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय, गोरखाको टोली पनि उद्धारमा खटिएको थियो ।
शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।













