कृषिमा यान्त्रिकीकरणतर्फ कास्की, ‘मिनी राइस प्लान्टर’ परीक्षण

उत्पादन र उत्पादकत्व बढ्दा लागत घट्ने, मेसिन किन्न चाहने किसानलाई ८५ प्रतिशतसम्म अनुदान

गोविन्द सुवेदी

पोखरा ।
कास्कीसहित विभिन्न जिल्लामा यो सिजनमा चैते धान रोपाइँ चलिरहेको छ । चैते वा बर्षेधान रोपाइँमा पहिले जस्तो अहिले हलगोरु, हलो, हली र बाउसेको प्रयोग कम नै हुने गरेको छ । अब रोप्ने रोपाहारको पनि प्रयोग कम हुने भएको छ ।

कृषि यान्त्रिकीकरणतर्फ क्रमस अगाडि बढ्दा जनशक्ति र लागत दुबै घट्दो क्रममा छ । यसैक्रममा चैते धान प्रर्वद्धन कार्यक्रम अन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाई कास्कीले धान रोप्ने मेसिन ‘मिनी राइस प्लान्टर’ को परीक्षण गरेको छ ।

पोखरा-२६ स्थित खराने फाँटमा यसको परीक्षण गरिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाई कास्कीका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापा मगरले यो मेसिन मार्फत यो सिजनमा ६ रोपनी खेतमा धान रोप्ने योजना रहेपनि विउ धेरै राखिएकाले १० रोपनीमा धान रोपाइँ गर्न सकिने बताए ।

यो मेसिन तराईका जिल्लाहरुमा यस अगाडि नै प्रयोग भएको भएपनि कास्कीमा भने पोहोर मात्र माछापुच्छ्रे गाउँपालिकामा प्रयोग भएको थियो । माछापुच्छ्रेमा प्रयोग गर्दा चितवनमा ट्रेमा बेर्ना तयार गरेर ल्याइएको थियो ।

यसपाली राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाई कास्कीले नै ट्रेमा बेर्ना उत्पादन गर्ने सिप सिकाएर यहीँ बेर्ना उत्पादन गरिएको वरिष्ठ कृषि विकास अधिकृत थापा मगरले जानकारी दिए ।

उनका अनुसार एक रोपनीमा धान रोप्न १५ देखि २० वटा ट्रेमा व्याड राख्नुपर्छ । मिनी राइस प्लान्टर मेसिनको प्रयोगबाट एक घण्टामा ४ रोपनी जमिनमा धान रोपाइँ गर्न सकिन्छ । यो मेसिनमार्फत धान रोप्दा १० देखि १२ सेन्टिमिटरको बेर्ना रोपिन्छ ।

जवकी हातले रोप्दा कम्तिमा पनि १५ सेन्टिमिटरको विरुवा हुनुपर्छ । यसरी रोपाइँ गर्दा उत्पादन र उत्पादकत्व बढ्ने र लागत घट्ने उनले बताए । ‘यो मेसिनबाट रोप्दा कम उमेरको विरुवा रोप्न सकिन्छ । यसो गर्दा धानले गाँज हाल्छ । लहरमा रोपिने हुँदा हावा खेल्न पाउनुका साथै गोड्ने यन्त्रको समेत प्रयोग गर्न सकिन्छ । यसोहुँदा उत्पादन र उत्पादकत्व दुबै बढ्छ अनि लागत घट्छ’ उनले भने ।

मिनी राइस प्लान्टर मेसिन किन्न एक लाख ८० हजारदेखि दुई लाखसम्म पर्छ । अहिले परीक्षणको क्रममा रहेको र किसानले चाहेमा मेसिन किन्न ८५ प्रतिशतसम्म अनुदान दिइने प्रमुख धन बहादुर राना मगरले जानकारी दिए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन ईकाई कास्कीले मेसिन, सिंचाई, नर्सरी र उत्पादनमा अनुदान दिन्छ ।

  • ३० फाल्गुन २०८२, शनिबार १३:४६ प्रकाशित