कम्बोडियाका अनलाइन स्क्यामिङ सेन्टरमा फसेका २१ नेपालीको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।

राम्रो रोजगारी र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २१ जना नेपालीको उद्धार गरिएको छ।अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा जबर्जस्ती गैरकानुनी काममा लगाइएका उनीहरूलाई शुक्रबार स्वदेश फर्काइएको हो।

बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार सम्भव भएको हो ।

दूतावासका अनुसार दलालको प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरू भिसा अवधि सकिएपछि पनि लुकिछिपी बस्न बाध्य थिए। दूतावासले कम्बोडियामा यस्तै कठिन परिस्थितिमा अलपत्र परेका अन्य नेपालीहरूको पनि खोजी तथा स्वदेश फर्काउने पहल निरन्तर भइरहेको विज्ञप्तिमा जनाएको छ ।

  • २९ फाल्गुन २०८२, शुक्रबार १५:४९ प्रकाशित