पोखरा ।
पोखरामा किताब बेचिरहँदा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई अभ्रद व्यवहार गरेको भन्दै पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् । पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा गुरुङलाई पक्राउ गरिएको थियो ।
२५ फागुनमा पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै आलोचना बढेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बुधबार गुरुङलाई पक्राउ गरेको थियो । प्रश्न गरेकै आधारमा पक्राउ गरिएको भन्दै आलोचनासमेत भइरहेको थियो ।
सांसद महावीर नै मुद्धा अगाडि बढाउन अनिच्छुक भएपछि थुनामुक्त गरिएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।
‘पूर्वमन्त्री तथा सांसदलाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सोधपुचका लागि बोलाएका हौं,’ एसपी कार्कीले भने, ‘माननीयज्यूले नै गल्ती महसुस गरिसकेपछि मुद्दा अगाडि बढाउन अनिच्छुक देखिनुभयो र उहाँले पनि गल्ती महसुस गरेपछि छाडेका छौं ।’
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा जनताले नीति बनाउन जिताइसकेपछि पृथ्वीचोकमा किताब बेचिरहेका पुनसँग सांसदको काम किताब बेच्ने हो कि होइन भनेर सोधेको तर सोध्ने क्रममा आफूलाई रिस उठेको गुरुङले बताएका छन् ।
महावीरले पनि चर्केर जवाफ दिएपछि आफूलाई रिस उठेर बोलेको तर सांसदलाई अपमान गर्न हुँदैन थियो भन्ने पछि महसुस भएको विकासको भनाइ छ ।













