काठमाडौं ।
केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ ।
बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको जानकारी दिए ।वातावरणविद् भुषण तुलाधरले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीले बिहीबारदेखि नै मौसममा सुधार आएको र वर्षा भएसँगै वायुमा रहेको प्रदूषण हटाउन मद्दत गरेको जानकारी दिए । उनका अनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा वाग्मती प्रदेशको चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमीटर मापन भएको छ ।
त्यस्तै गण्डकी प्रदेशको लमजुङ घरेढुङ्गा केन्द्रमा १०२।२ मिलिमीटर र गोरखाको बारपाक केन्द्रमा ९० मिलिमीटर वर्षा मापन गरिएको छ । साथै कोशी प्रदेशको उदयपुर कटारीमा ९८.४ मिलिमीटर तथा झापाको चन्द्रगढी विमानस्थल केन्द्रमा ९६.४ मिलिमीटर वर्षा मापन गरिएको थियो ।
एक्युआइको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । एक सय ५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । रासस













