काठमाडौं ।
सिंहदरबारस्थित नयाँ संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै एकदेखि दुई महिनासम्म लाग्न सक्ने भएको छ ।
प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका रूपमा बहुउद्देश्यीय हल तयार पारिरहेको छ । उक्त हल तीन सय जना अट्ने क्षमताको छ । सोही हलमा नयाँ सांसदहरूलाई शपथ गराउने र केही बैठक पनि राख्ने तयारी गरेको छ ।
बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमनमा गएका थिए । अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधि सभा हलका साथै मल्टिपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिए ।
सोही क्रममा सहरी विकास मन्त्रालयका अधिकारीहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै १र२ महिना लाग्ने बताएका हुन् ।
वैकल्पिक रूपमा काम गर्दै गरेको मल्टिपर्पोज हललाई सभाकक्षका रूपमा शनिबारसम्म निर्माण गरिसक्ने पनि उनीहरूले बताएका छन् । जहाँ नयाँ सांसदहरूको शपथ हुनेछ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले बनिरहेको मल्टिपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिए । अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए ।













