पतञ्जलि जग्गा प्रकरण अन्तर्गत पूर्वप्रधानमन्त्री माधव नेपालसहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा

केन्द्रभाग मिडिया

काठमाडौं।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ भएको छ । उक्त मुद्दामा सुनुवाइका लागि अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तय भएको थियो ।

भ्रष्टाचार मुद्दामा नेपालसँगै प्रतिवादी रहेका भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त र अदालतका अध्यक्ष भट्टबिच नाता सम्बन्ध रहेका कारण हेर्न नमिल्ने भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ ।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोग पत्रमा दाबी गरिएको छ ।

३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको थियो ।

  • २८ फाल्गुन २०८२, बिहीबार १७:०२ प्रकाशित