चुनावी समीक्षाका लागि सिके राउतले बोलाए बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

फागुन २१ सम्पन्न चुनावको समीक्षाका लागि डा।सिके राउत नेतृत्वको जनमत पार्टीले दुई चरणमा बैठक आयोजना गर्ने भएको छ । पार्टीले केन्द्रीय सचिवालयदेखि लिएर उम्मेदवार तथा पर्यवेक्षकहरूसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेको हो ।

जनमत पार्टीले यो चुनावमा एक सिट पनि जित्न सकेन । पार्टीका अनुसार आज केन्द्रीय सचिवालयको बैठक बस्नेछ । त्यसपछि उम्मेदवार तथा पर्यवेक्षकहरूसँग अनलाइनमार्फत निर्वाचन समीक्षा बैठक राखिएको छ । भर्चुअल बैठकमा चुनावमा सहभागी उम्मेदवार र पर्यवेक्षकहरूले आफ्नो अनुभव तथा चुनावी अवस्था बारे रिपोर्ट प्रस्तुत गर्ने जनमत पार्टीले जनाएको छ ।

यसैगरी, भोलि केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बिहान ११ः०० बजेदेखि सुरु हुने उक्त बैठक भर्चुअलको माध्यमबाट सञ्चालन हुने जनाइएको छ । बैठकमा केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद्का सदस्य तथा प्रदेश समन्वय समितिका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

बैठकमा हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा, चुनावी रणनीति, सङ्गठनको अवस्था तथा आगामी राजनीतिक कार्यक्रम बारे विस्तृत छलफल हुने बताइएको छ । साथै, निर्वाचनबाट प्राप्त अनुभवका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने विषयमा पनि निर्णय हुन सक्ने जनाइएको छ ।

  • २७ फाल्गुन २०८२, बुधबार १४:०३ प्रकाशित