पोखरा ।
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न सु्झाव दिएका छन् । कांग्रेस सभापति थापाले सभापति पदबाट राजिनामा दिने चर्चा चलिरहेका बेला पूर्वउपसभापति श्रेष्ठले समाजिक सञ्जाल फेसबुक मार्फत यस्तो सुझाव दिएका हुन् ।
नेता श्रेष्ठले हालै सम्पन्न निर्वाचनमा अपक्षाकृत परिणाम आउन नसके पनि पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन्। उनले सभापति थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले कांग्रेसलाई अझै दृढ बनाएको बताएका छन् ।
उनले निर्वाचनको नतिजाभन्दा लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्त्व राख्ने उल्लेख गर्दै यस कठिन घडीमा राजिनामा दिनु देश र पार्टी दुर्बलाई हितकर नहुने बताए । सभापति थापाको नेतृत्वमा नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिएको उनले विश्लेषण गरेका छन् ।
‘गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि, र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन । बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ । तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौं’ उनले लेखेका छन् ।













