दाउन्नेमा पाँच सवारी साधन एकआपसमा ठोकिए, ८ जना घाइते

केन्द्रभाग मिडिया

नवलपरासी ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोकिएका छन् । यसरी सवारी साधन एक आपसमा ठक्कर खाँदा ति सवारी साधनमा सवार मध्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतीय कन्टेनरले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले बजानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् ।

त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार छ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका हुन्।

घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ ।

  • २७ फाल्गुन २०८२, बुधबार ०८:२६ प्रकाशित