नेविसंघको सिनेट बैठक चैत ६ गतेका लागि आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिनेट बैठक बोलाएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक सूचना जारी गरी चैत ६ गते त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बस्नेगरी सिनेट बैठक बोलाएका छन् ।

बैठकमा विशेष गरी तीन एजेन्डामा छलफल हुने सूचनामा उल्लेखित छ । जसमा नेविसंघको संशोधित एवं परिमार्जित विधान, नेविसंघको १२ औँ केन्द्रीय महाधिवेशनको कार्य तालिका र विविध विषयमा छलफल हुने उल्लेख छ ।

नेविसंघको विधानअनुसार सिनेटलाई नेविसंघको सर्वोच्च निकाय मानिन्छ । जसको अध्यक्ष नेविसंघको केन्द्रीय अध्यक्ष नै रहने प्रावधान छ । यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सिनेटका पदेन सदस्य रहन्छन् ।

यस्तै नेविसंघका प्रदेश अध्यक्षहरू, सबै जिल्ला अध्यक्ष, स्ववियु परिषद्का सभापति, स्ववियु तथा कल्याण परिषद्का अध्यक्षहरू, विश्वविद्यालय क्याम्पस समितिका अध्यक्षहरू, विश्वविद्यालय समन्वय समितिका अध्यक्षहरू, प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष र सीटीईभीटी समन्वय समितिका अध्यक्ष पनि सिनेटका सदस्य हुन्छन्

यस्तै विदेश क्षेत्रका अध्यक्ष तथा स्ववियु निर्वाचन हुने क्याम्पस एकाइका अध्यक्ष पनि सिनेटका सदस्य रहने प्रावधान छ ।

  • २६ फाल्गुन २०८२, मंगलवार १६:४४ प्रकाशित