ए डिभिजन लिगको उद्घाटन खेल ३० चैतमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको छ ।

मंगलबार एन्फा र खेलाडी संघबीच भएको छलफलपछि जुटेको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले सहमतिबारे जानकारी दिएका हुन् ।

खेलाडी संघले राखेका मागहरूको अन्य बुँदामा पनि सहमतिमा पुगेको शाहले जानकारी दिएका छन् ।यसअघि आइतबार खेलाडी संघले विभिन्न मागहरू राखेर एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो ।

सहमति भएपछि आजै एन्फा मुख्यालयको ताला खोलिसकिएको छ ।खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताए।

एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रले खेलाडी संघसँग भएको सहमतिअनुसार ए डिभिजन लिगको उद्घाटन खेल चैत ३० मा गर्ने निर्णय भएको बताएका छन्। उनले राष्ट्रिय लिगको तालिका संशोधन गरेर लिगका लागि समय मिलाउने योजना रहेको पनि जानकारी दिए।

चैत ३० गते एउटा खेल गरेर वैशाख २० गतेदेखि नियमित रूपमा लिगका खेल सुरु गर्ने तयारी छ।विसं २०७९ मा पछिल्लो संस्करणको ए डिभिजन लिग भएपछि नयाँ सिजन सुरु हुन सकेको छैन ।

  • २६ फाल्गुन २०८२, मंगलवार १६:२७ प्रकाशित