काठमाडौं ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा ओर्लिएको छ ।
आज कारोबार रकम भने निकै ठूलो उछाल आएको छ । मंगलबार ३२९ वटा कम्पनीको कुल ५ करोड २७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम करिब ७ महिना यताकै धेरै हो ।
आज बजारमा कारोबार भएका कम्पनीमध्ये जम्मा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।













