पोखरा।
गत भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको छ। डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ लाचोक निवासी सूर्य बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।
उनी २०८२ साल भदौ २४ गते कारागार कार्यालय कास्कीमा भएको आन्दोलन र अराजकताको समयमा सुरक्षा घेरा तोडेर फरार भएका थिए। लामो समयदेखि फरार रहेका घर्ती क्षेत्रीको खोजतलासका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष संयुक्त टोली परिचालन गरेको थियो।
उक्त टोलीले सुराकीको आधारमा फागुन २५ गते दिउँसो करिब १२:४५ बजे पोखरा महानगरपालिका वडा नं। ९ स्थित पृथ्वीचोकमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई फेला पारेको हो। प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद सजाय भुक्तानका लागि पुनः कास्की कारागार चलान गरेको छ।













