पोखरा ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणना जारी छ । विहान ८ः३० बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी मतान्तरसहित पहिलो स्थानमा छ । उसले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा तेब्बर बढी मत पाएको छ ।
प्रत्यक्ष तर्फ १२५ स्थानमा जित हाँसिल गरेको रास्वपाले ४९ लाख ६७ हजार ४३ मत पाएको छ । प्रत्यक्षमा १८ सिट जितेर दोस्रो भएको नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ८४ हजार १७५ मत पाएको छ ।
प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख २४७ मत पाएको छ । प्रत्यक्षमा ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ७ लाख ६१ हजार ६८० मत पाएको छ ।
चार महिना अघि मात्रै स्थापना भएर पनि प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ४९ हजार १४० मत पाएको छ । थ्रेसहोल्ड नाघेर राष्ट्रिय पार्टीको मान्यता पाएको छ ।
यसैगरी प्रत्यक्षमा एक सिट जितेको राप्रपाले समानुपातिकमा ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ र ऊ पनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।













