पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकीकृत सेवा कार्यालय कास्कीले आयोजना गरेको कार्यक्रम उनले यस्तो बताएका हुन । “Rights, Justice, Action for all Women and Girl” तथा राष्ट्रिय नारा “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” का साथ आयोजित कार्यक्रममा महिला सशक्तीकरण, समानता र न्याय सुनिश्चित गर्ने विषयमा विशेष छलफल भएको थियो ।
मन्त्री थापाले महिला अधिकार र सहभागिताका क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै संविधान र विभिन्न कानुनी व्यवस्थामार्फत महिलाको प्रतिनिधित्व र नेतृत्व सुदृढ बन्दै गएको उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय तहका सरकार तथा नीति निर्माणका निकायमा महिलाको सक्रिय भूमिका बढ्दै गएको भन्दै यसले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाएको बताए ।
उनले मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाको आर्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरण अत्यावश्यक रहेको धारणा व्यक्त राखे । उनका अनुसार समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसाको शिकार बन्ने, रोजगारीका अभावमा विदेशिनुपर्ने जस्ता समस्या अझै पनि समाजमा विद्यमान छन्। विशेषगरी विदेशमा श्रम गरिरहेका नेपाली दिदीबहिनीले असुरक्षित तथा कठिन परिस्थितिमा काम गर्नुपरेको यथार्थप्रति राज्य संवेदनशील रहेको उनले उल्लेख गरे ।
उनले गण्डकी प्रदेश सरकारले महिला सशक्तीकरण र संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन । प्रदेश सरकारले हिंसा पीडित महिलाका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालन, कामकाजी महिलालाई सहयोग पुग्ने शिशु स्याहार केन्द्र स्थापना, तथा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलता विकास र सीपमूलक कार्यक्रमहरू अघि बढाएको मन्त्री थापाले बताए । यस्ता कार्यक्रमले महिलालाई आर्थिक रूपमा सबल, आत्मनिर्भर र सुरक्षित बनाउने विश्वास उनको छ ।
मन्त्री थापाले आर्थिक रूपमा कमजोर अवस्थाका महिलाहरू हिंसाको उच्च जोखिममा पर्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु नै हिंसा न्यूनीकरणको दीर्घकालीन उपाय भएको बताए । यसका लागि सरकार, नागरिक समाज र सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
उनले महिला सशक्तीकरण केवल महिलाको मात्र सरोकार नभई समाजका सबै सदस्यको साझा जिम्मेवारी भएको स्पष्ट पारे । महिला र पुरुष दुवैको समान, सक्रिय र सहकार्यपूर्ण भूमिकाबाट मात्र महिला अधिकारको पूर्ण सुनिश्चितता सम्भव हुने उनले बताए ।
अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समाजमा थप ऊर्जा, प्रतिबद्धता र उत्साह प्रदान गर्ने विश्वास उनको छ । कार्यक्रमका सहभागीहरूले पनि समानता, न्याय र अवसरयुक्त समाज निर्माणमा सामूहिक पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।














