विराटनगर ।
संखुवासभाका सबै क्षेत्रका मतपेटिका अझै सदरमुकाम ल्याउन नसक्दा मतगणना अनिश्चित बनेको छ । विकट क्षेत्र र प्रतिकूल भूगोलका कारण जिल्लाका ९ वटा मतदान केन्द्रको मतपेटिका संकलनमा ढिलाइ भएको हो ।
संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाका केही दुर्गम क्षेत्रका मतपेटिका शुक्रबार दिनभरमा सदरमुकाम आइपुग्ने बताइन् । उनले ९ वटा मतदान केन्द्रको मतपेटिका संकलन हुन बाँकी रहेको बताइन् ।
जसमध्ये पाँचवटा केन्द्रबाट हेलिकप्टर मार्फत र चारवटा केन्द्रबाट गाडी मार्फत मतपेटिका ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ । दुर्गम क्षेत्रका पाँच केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर भने आइपुगिसकेको छ। यद्यपि, उडान र ढुवानी कार्य मौसममा भर पर्ने प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन् ।














