मुस्ताङमा ५ उम्मेदवारको जमानत जफत

केन्द्रभाग मिडिया

मुस्ताङ ।

प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली मुस्ताङबाट फराकिलो मतान्तरले विजयी भएका छन्। उनको जितसँगै मुस्ताङमा प्रतिस्पर्धा गरेका ८ मध्ये ५ जना उम्मेदवारको जमानत (धरौटी)जफत भएको छ।

अन्तिम मतपरिणाम अनुसार कांग्रेसका ३२ वर्षीय उम्मेदवार योगेश गौचन थकालीले ३,३०७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का ५६ वर्षीय इन्द्र धारा डादु विष्टले १ हजार ८०६ मत प्राप्त गरे।

निर्वाचन कानुन अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ। प्राप्त तथ्यांक अनुसार मुस्ताङमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहित ५ वटा साना दलका उम्मेदवारले १० प्रतिशत मत कटाउन नसक्दा उनीहरूको जमानत जफत भएको हो।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का ३९ वर्षीय उम्मेदवार अधितीय चन्द्र थकालीले भने ७५९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। कूल खसेको मतको आधारमा उनले १० प्रतिशतको सीमा ९थ्रेसहोल्ड० पार गरे ।
मुस्ताङमा कूल सदर मत ६ हजार २ सय ८१ रहेकोमा जमानत जोगाउन कम्तीमा ६२८ मत ल्याउनुपर्ने अवस्था थियो। जसमध्ये कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारले मात्र यो सीमा पार गर्न सफल भएका हुन्।

जमानत जफत हुने उम्मेदवार र उनीहरूले प्राप्त गरेको मत
१. कमला लालचन (राष्ट्रिय प्रजातन्त्र पार्टी) – १६१ मत
२. ङुटुक गुरुङ (नेपाली कम्युनिष्ट पार्टी) – १५१ मत
३.सुरेन्द्र शेरचन (उज्यालो नेपाल पार्टी) – ८५ मत
४. अजय बिक (आम जनता पार्टी) – ९ मत
५. यम बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) – ३ मत

  • २२ फाल्गुन २०८२, शुक्रबार १४:४३ प्रकाशित