प्रारम्भिक मतगणनामा रास्वपाको उत्साहजनक अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहीबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको उत्साहजनक अग्रता देखिएको छ । विभिन्न जिल्ला स्थित निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान ७ : २० बजेसम्म देशका ३८ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ३३ स्थानमा रास्वपाले अग्रता लिएको छ ।

विगतका ठूला दल नेपाली कांग्रेस ३ स्थान र नेकपा एमालेका उम्मेदवारले २ स्थानमा अग्रता लिएका छन् । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले भारी मतले पछाडि पारेका छन् । शाहले १४७६ मत ल्याउँदा ओलीले ३८४ मत मात्र पाएका छन् ।

अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् । मतगणना जारी रहेकाले प्रारम्भिक परिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना छ ।

  • २२ फाल्गुन २०८२, शुक्रबार ०७:२५ प्रकाशित