बागलुङ ।
बागलुङमा कैदीबन्दीका लागि अस्थायी मतदानस्थल तयार गरिएको छ । जिल्ला कारागार बागलुङमा रहेका ५३ जना कैदीबन्दी मतदाता अस्थायी मतदानस्थल तयार गरिएको हो ।
कैदीबन्दीलाई पनि मतदान गर्ने अधिकार हुने हुँदा कारगारमै एउटा मतदानस्थल निर्माण गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञराज रिजालले जानकारी दिए । कैदीबन्दीले उनीहरूसँग भएको परिचय पत्रका आधारमा मतदान नगर्न पाउने उनको भनाइ छ ।
कारगारसहित बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तयार गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको रिजालले बताए ।
कैदीबन्दीलाई कारागार र कर्मचारी तथा सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत भोट हाल्ने व्यवस्था मिलाएको छ । उनीहरूले समानुपातिक मत मात्रै हाल्न पाउने व्यवस्था छ ।
बागलुङ जिल्लाभर कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् जस मध्ये ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । निर्वाचनका लागि कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी गरी चार हजार जनशक्ति परिचालन गरेको छ ।













