आज पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १५ औँ स्मृति दिवस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बुधबार १५औँ स्मृति दिवस । भोलि हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि रहेकाले कांग्रेसले कुनै पनि कार्यक्रम गरेको छैन ।

२०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका र दुई पटक प्रधानमन्त्री भएकाले उनी नेपाली राजनीतिमा चर्चित छन् । विसं १९८१ पुस ८ गते जन्मिएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएका भट्टराई विसं २०१५ मा संसद्को सभामुख भएका थिए । भट्टराई अडान भएको र आदर्शमा नचुक्ने नेताका रुपमा चिनिन्छन् ।

पञ्चायतकालमा उनी सुन्दरीजल बन्दीगृहमा लामो समय बीपी कोइराला र गणेशमान सिंहका साथमा बसेका थिए । भट्टराई सन् १९४२ को ‘अङ्ग्रेज भारत छोडो’ आन्दोलनमा सहभागी भएर पहिलो पटक जेल परेका थिए।

विसं २००३ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको महामन्त्री भए । नेपाली कांग्रेस बनेपछि सहमहामन्त्री हुँदै उनले २००७ को सशस्त्र क्रान्तिमा मुक्ति सेनाका कमान्डरको भूमिका निर्वाह गरेका थिए।

विसं २०१७ मा राजा महेन्द्रको ‘कू’ पछि बिपी कोइरालासँगै पक्राउ परेका भट्टराईले १० वर्ष लगातार जेलमा बिताए । कांग्रेस संस्थापन विश्वेश्वरप्रसाद कोइरालाको निधनपछि डेढ दशकसम्म कार्यवाहक सभापतिका रूपमा पार्टी हाँकेका भट्टराईले २०४६ को जनआन्दोलनको नेतृत्व गरेका थिए । आन्दोलन सफल भएपछि बनेको आन्तरिक सरकारको प्रधानमन्त्री भएका भट्टराईले एक वर्षभित्रै संविधान र निर्वाचन सम्पन्न गरेका थिए ।

उनी २०५६ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याएपछि पनि प्रधानमन्त्री बनेका थिए ।

  • २० फाल्गुन २०८२, बुधबार १३:०९ प्रकाशित