निर्वाचन विरोधी गतिविधिमा संलग्न १७६ जना पक्राउ

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
देशका विभिन्न ठाउँबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । यस्तो गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन’ र ‘डिस इन्फरमेसन’ प्रवाह गर्ने तथा गाडी जलाउनेलगायत निर्वाचनविरोधी गतिविधि गर्नेहरु पक्राउ परेका हुन् ।

सुरक्षा चुस्त र प्रभावकारी बनाइएकाले काठमाडौँमा राति दुई वटा गाडी जलाएको पाइए पनि निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका कुनै पनि घटना नभएको उनले बताए ।

उनले भने, ‘जिल्लाका मतदान केन्द्रहरूमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर सुरक्षालाई चुस्त बनाउने काम भएको छ । मोबाइल र रिजर्भ टोलीले अन्य सुरक्षा संयन्त्रसँग समन्वय गरी निर्वाचन सुरक्षा सुदृढ बनाउन उच्च मनोबलका खटिने काम भएको छ । प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गर्ने तथा मौन अवधि उल्लङ्घन गर्नेहरू पहिचान गरी विशेष निगरानी गर्ने र नियन्त्रण गर्ने काम भइरहेको छ ।’

आजै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रीय निर्वाचन सेलको अनुगमन गरी मौन अवधिमा सीमा सुरक्षामा विशेष निगरानी र सुरक्षा चुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिएका उनले जानकारी दिए । आज देशका विभिन्न क्षेत्रमा तर्साउनका लागि राखिएका पाँचवटा नक्कली वस्तु फेला परेका र सेनाले निष्क्रिय गरेको प्रहरीले जनाएको छ ।

  • १९ फाल्गुन २०८२, मंगलवार २३:०२ प्रकाशित