सवारी पास दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।
निर्वाचन आयोगले सवारी पासको दुरूपयोग नगर्न आग्रह गरेको छ । आयोगले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सवारी पास लिएर सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो ।

‘निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणका गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यस पूर्व गरिएका सिफारिसहरू र यो सिफारिसबमोजिम सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ ।’

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘झ’ र ‘त’, ऐ. कार्यविधिको दफा १५ समेतका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म जान–आउन पास आवश्यक नपर्ने व्यवस्था मिलाउन आयोगबाट नेपाल सरकारलाई सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीसमेत गराएको छ ।

आयोगले नियमविपरीत गरे/गराइएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउने समेत सबैलाई जानकारी गराएको छ ।

  • १९ फाल्गुन २०८२, मंगलवार २१:५७ प्रकाशित