काठमाडौं ।
फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागलाई उद्धत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस महिना गत वर्ष सोही अवधिको तुलनामा ११ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।
फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यस वर्ष ८.८ प्रतिशत पर्यटक बढेका हुन् । २०१९ को तुलनामा समेत आगमनमा सुधार भएको छ । त्यस वर्ष १ लाख २ हजार ४ सय २३ पर्यटक आएको बोर्डको तथ्यांक छ ।
नेपाल आगमनमा सुधार आउनुमा भारतीय पर्यटक आगमनमा आएको सुधारले ठूलो भूमिका खेलेको छ । यसबाहेक बौद्धमार्गी मुलुकबाट समेत आगमनमा उत्साहजनक सुधार देखिएको छ ।
फेब्रुअरी २०२५ को दाँजोमा यस वर्ष १८.५ प्रतिशतले भारतीय पर्यटक आगमन बढेको छ । यस वर्ष २२ हजार ७ सय ४५ भारतीय नेपाल आएका छन् । अघिल्लो वर्ष १९ हजार १ सय ८७ आएका थिए ।
बंगलादेशी पर्यटक आगमनमा भने ३३.७ प्रतिशतको गिरावट आएको छ । त्यहाँबाट यस महिना ३ हजार २ सय १२ पर्यटक मात्र आएका छन् । अघिल्लो वर्ष ४ हजार ८ सय ४७ पर्यटक आएका थिए ।
त्यस्तै श्रीलंकाबाट भने आगमनमा ७२ प्रतिशतको सुधार भएको छ । यस वर्ष श्रीलंकाबाट एक महिनामै ७ हजार ५ सय १५ जना आएका छन् । अघिल्लो वर्ष ४ हजार ३ सय ७० आएका थिए ।
उत्तरी छिमेकी चीनबाट समेत आगमनमा ३०.६ प्रतिशतको सुधार आएको छ । चीनबाट १० हजार ८ सय १६ पर्यटक आएका छन् । मलेसिया र म्यानमारबाट समेत आगमनमा व्यापक सुधार आएको छ । म्यानमारबाट एक महिनामा ६ हजार ३५ र मलेसियाबाट २ हजार १ सय ३७ पर्यटक आएका छन् ।
प्रमुख पर्यटन बजार अमेरिकाबाट ९ हजार ७ सय १० जना आएका छन् । अमेरिकाबाट आउने पर्यटक संख्या भने घटेको छ ।गत वर्ष फेब्रुअरीमा १० हजार ३ सय ४८ पर्यटक आएका थिए ।













