रौतहट ।
प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचार प्रसारको क्रममा आक्रमण भएको छ । आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ ।
सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो । आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरा स्थित आफ्नो घरमा आराम गरिरहेका छन् । डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् ।
सोमवार साँझ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार पार्टी अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले गुजरा ६ बेदौली गाउँमा घरदैलो कार्यक्रम गरिरहेका थिए । सोही क्रममा विपक्षी पार्टीका केहि कार्यकर्ताहरूले डिजे बजाउदै कार्यक्रम बिथोल्न खोजेका थिए । त्यही विपक्षी कार्यकर्तालाई सम्झाउन खोज्दा उनीहरुले धक्का दिएको र एकजना अपरिचित युवकले टाढैबाट लौरोले हान्दा नाकमा लागेर घाइते भएको मन्सुरीले बताए ।
घटना लगत्तै प्रहरी टोली त्यहाँ पुगेर अवस्था साम्य बनाएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।














