काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका छन् ।
भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका हुन् । प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ फागुन १९ गतेका लागि पेसी तोकिएको छ ।
आइतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यसअघि विद्युत्तीय अपराध मुद्दा खेपेर माघ २५ मा हाजिर जमानीमा रिहा भएका प्रसाईं फागुन ४ मा फेरि पक्राउ परेका थिए । त्यसबेला प्रहरीले उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशले उनी फागुन १३ मा रिहा भएका थिए । सर्वोच्चको आदेशले रिहा भएको ४ दिनमा प्रसाईं फेरि पक्राउ परेका हुन् । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।














