इरानले यूएईमा गरेको हवाई आक्रमणमा एक नेपालीको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

इरानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लक्षित गरी गरेको भीषण हवाई आक्रमणमा एक नेपाली नागरिकले ज्यान गुमेको छ । आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक गरी तीन विदेशी नागरिकको ज्यान गुमेको हो । ज्यान गुमाउने एक नेपाली नागरिक भएको पुष्टि भए पनि उनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

ययुएईको रक्षा मन्त्रालयलाई उदृत गर्दै एएफपीले जनाएअनुसार इरानले हालसम्म १ सय ६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार भएका छन्। यूएईको अत्याधुनिक हवाई रक्षा प्रणालीले अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गरे पनि ३५ वटा ड्रोन मुलुकका विभिन्न भूभागमा खसेका थिए। तीमध्ये २१ वटा ड्रोनले सिधै नागरिक बस्ती र भौतिक संरचनामा ठक्कर खाँदा मानवीय क्षति हुन पुगेको हो ।

यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ देशका ५८ जना नागरिक घाइते भएका छन् । मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ ।

एएफपीका अनुसार इरानी अधिकारीहरूले यसलाई ‘आफ्नो सुरक्षा स्वार्थका लागि गरिएको प्रतिशोधात्मक कदम’ भनेका छन् यता, यूएईले भने यसलाई ‘नागरिक सुरक्षा र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन’ भन्दै भर्त्सना गरेको छ । अन्तर्राष्ट्रिय समुदायले यस घटनापछि मध्यपूर्वमा ठूलो युद्ध भड्किन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन् ।

यसैबिच यूएईको मानव संशाधन तथा इमिरेटाइजेसन मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानहरूलाई सम्भव भएसम्म ‘रिमोट वर्किङ वा वर्क फ्रम होम’ (घरबाटै काम गर्ने) को व्यवस्था लागू गर्न र भौतिक उपस्थिति अनिवार्य हुने महत्वपूर्ण भूमिका बाहेक अन्य कर्मचारीहरूलाई खुला क्षेत्रमा नखटाउन सिफारिस गरेको छ । गल्फन्यूजका अनुसार यो निर्देशिन आइतबार, १ मार्चदेखि मंगलबार, ३ मार्च २०२६ सम्म तीन दिनका लागि लागू हुनेछ ।

  • १७ फाल्गुन २०८२, आईतवार २०:५९ प्रकाशित