विराटनगर।
मोरङ क्षेत्र नम्बर ६ मा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका बसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन्।
आइतबार मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत बुढाथोकीले ढकाललाई विजयी गराउन आफ्नो उम्मेदवारी निष्क्रिय गराएको जानकारी दिएका हुन्।
बुढाथोकीले मोरङ ६ को समग्र विकास, स्थिरता र सदनमा सशक्त आवाज उठाउन सक्ने एक्लो उम्मेदवार विनोद ढकाल मात्रै भएको दाबी गरे। विगतमा यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले जनताका समस्यालाई उपेक्षा गरेको र विकास निर्माणमा कुनै ठोस काम नगरेको आरोप लगाउँदै उनले अहिलेको अवस्थामा ढकाल नै उपयुक्त विकल्प भएको बताए।
पार्टीगत घेराभन्दा माथि उठेर देश र क्षेत्रको हितका लागि आफूले यो निर्णय लिएको बुढाथोकीको भनाइ छ। मोरङ ६ ले बलियो र प्रभावकारी प्रतिनिधित्व खोजिरहेकाले आफूले ढकाललाई रोजेको उनले स्पष्ट पारे।














