काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगले युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह गरेको छ ।
शनिबार इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरूमा देखिएको अन्योलग्रस्त अवस्था र त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूमा पर्न जाने प्रभावका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै युद्धका कारण नेपालीहरूमा पर्न जाने असुविधाप्रति आयोगले गम्भीर चासो र चिन्ता प्रकट गरेको छ ।
‘राज्य नागरिकको अभिभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भएपनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्दछ । यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरूमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्दछ,’आयोगका डा।टीकाराम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
सरकारले आफ्ना कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घ सङ्गठनहरूसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणको लागि तथ्याङ्क सङ्कलन गरी जोखिमको आकलन गर्न र अति प्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकार तथा विदेशस्थित कूटनीतिक नियोगहरूलाई आयोगेले आग्रह गरेको छ ।
नेपाली नागरिकको सुरक्षा र उद्धारका कार्यमा आवश्यक समन्वय र सहयोग गर्न आयोगले ती देशहरूमा रहेका गैरआवासीय नेपाली सङ्घ सङ्गठनहरूलाई समेत अनुरोध गरेको छ।















