चुनावी प्रचारमा घण्टी र राष्ट्रिय झण्डाको प्रयोग रोक्न आयोगसमक्ष कांग्रेसको ध्यानाकर्षण

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरूले निर्वाचन प्रचार-प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको पाइएको चालिसेले बताए । रास्वपाको प्रचारको क्रममा घण्टीको प्रयोग भइरहेको गुनासोपछि आयोगले केही दिनअघि पनि भौतिक चुनाव चिन्ह प्रदर्शन नगर्न आग्रह गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचार-प्रसार गरिरहेकोले ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि आचारसंहिता पालना गर्न/गराउन समेत ध्यानाकर्षण गराइएको कांग्रेस प्रवक्ता चालिसेले बताए ।

त्यस्तै राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशनविपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको कांग्रेसको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

  • १७ फाल्गुन २०८२, आईतवार १४:२६ प्रकाशित