काठमाडौं ।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन र नेपाली कांग्रेसलाई जिताउन अपिल गरेका छन् । खड्काले सामाजिक सञ्जालमा आइतबार लेख्दै कांग्रेसलाई जिताउन अपिल गरेका हुन् ।
‘फागुन २१ गते बिहान ७ बजे देखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुवै मत पत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिनुहुन हृदयदेखिनै हार्दिक विनम्र अनुरोध गर्दछु,’ खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्ने पनि बताएक छन् । खड्काले प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा रूख चुनाव चिन्हमा मतदान गर्न पनि आग्रह गरेका छन् ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट आफूहरूको सहमति बेगर तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसका विवाद छ । १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र डा। शेखर कोइराला समूह विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालत गएको छ । त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
यो निर्वाचनमा अहिलेसम्म निवर्तमान सभापति देउवा, नेता खड्कासहितका केही नेता प्रचार प्रसारमा सहभागी भएका छैनन् । यही सन्दर्भमा खड्काको अपिल आएको हो ।















