सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, इरानमा ४० दिने सार्वजनिक शोक घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका छन् । इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका हुन् । साथै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन् ।

यद्यपि इरानी सरकारले आधिकारिक रूपमा यसको पुष्टि गरिसकेको छैन । सीएनएनसँग कुरा गर्दै इजरायली अधिकारीहरूले आफूहरूसँग भग्नावशेषबाट बरामद गरिएको खामेनीको शवकै तस्बिर रहेको दाबी गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए । यद्यपि इरानी अधिकारीहरूले भने उनी सुरक्षित नै रहेको बताउँदै आएका थिए । आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्रृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ । शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला गरेको थियो ।

राजधानी तेहरानस्थित सर्वोच्च नेता खामेनीको घरनजिकै विस्फोटका ठूला आवाज सुनिएको र धुवाँका मुस्लो देखिएको थियो । खामेनीको निवाससँगै अन्य भवनहरूमा पनि क्षति भएको भिडिओ र तस्बिर सार्वजनिक भएका थिए ।

आक्रमणपश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नागरिकहरुका लागि सत्ता आफ्नो नियन्त्रणमा लिने सुनौलो अवसर आएको बताएका थिए ।

८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको नेतृत्वमा थिए ।

  • १७ फाल्गुन २०८२, आईतवार ०८:३८ प्रकाशित