मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्र्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए ।

‘अलमलमा पर्न जरुरी छैन । बाँकी काम मतदान अधिकृतले नै गर्ने हो । नेपाल प्रहरीको सहयोग लिएर गर्ने हो । त्यसको ढाँचा नै त्यसैमा उल्लेख गरेका छौं,’ गृहमन्त्री अर्यालले भने ।

उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदान अधिकृतले मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतगणना स्थलसम्म पुर्‍याउने व्यवस्था मिलाइएको बताए ।

उनले मतपेटिका ढुवानी र सुरक्षाबारे कुनै भ्रम राख्न आवश्यक नरहेको र सबै काम स्थापित सुरक्षा मापदण्डअनुसार हुने जानकारी दिए ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको मन्त्री अर्यालले बताए ।

त्यस्तै गृहमन्त्री अर्यालले कुनै पनि अवस्थामा निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने दाबी पनि गरे । वर्तमान सरकार गैरदलीय र निष्पक्ष ढंगले काम गरिरहेको उल्लेख गर्दै उहाले कानुनको पूर्ण पालना र कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारे ।

दण्डहीनताको अन्त्य गर्नु वर्तमान सरकारको प्रमुख लक्ष्य रहेकाले कानुन उल्लंघन गर्ने जो–कोहीमाथि कानुनी कारबाही हुने उनले बताए ।

  • १५ फाल्गुन २०८२, शुक्रबार १६:५२ प्रकाशित