स्वदेशमै रोजगारी र स्टार्ट अपका लागि ‘सहुलियत’ ऋणको व्यवस्था गर्नुपर्छ : रश्मि आचार्य

केन्द्रभाग मिडिया

पोखरा।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि आचार्यले व्यवसायिक शिक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् ।

उनले युवालाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान शिक्षा संरचनामा परिवर्तन आवश्यक रहेको बताए ।

उनले हाल सैद्धान्तिक शिक्षा बढी र प्राविधिक शिक्षा कम रहेको अवस्थालाई सुधार गर्दै प्राविधिक धारको शिक्षालाई विस्तार गर्नुपर्नेमा उनको जोड दिए ।शुक्रबार पोखरा महानगरपालिका वडा नं। ४ मा आयोजित मतदाता भेटघाट अन्तरक्रियामा उम्मेदवार आचार्यले सो कुरा बताएका हुन् ।

प्राविधिक शिक्षा हासिल गरेपछि युवा स्वतः व्यवसाय गर्न सक्षम हुने, उद्यमशीलतामा जोडिन सक्ने र आत्मनिर्भर बन्न सक्ने वातावरण तयार हुने आचार्यको तर्क छ । त्यसका लागि “स्टार्टअप बिजनेस” र वाणिज्य क्षेत्रलाई एकीकृत गर्दै सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनले बताए ।

युवा तथा बौद्विक नेता उनले रोजगार प्रर्वद्धनका लागि स्पष्ट नीति निर्माण, साना तथा मझौला उद्यमलाई प्रोत्साहन र नयाँ व्यवसाय सुरु गर्न सहज वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे ।

आचार्यले प्रत्येक परिवार, हरेक समुदाय र संघ–संस्थाले देशको समृद्धिमा योगदान गर्नुपर्ने उल्लेख गर्दै सन्तुलित विकास र सर्वाङ्गीण विकासमार्फत समृद्ध समाज निर्माण गर्न सकिने धारणा राखे ।

  • १५ फाल्गुन २०८२, शुक्रबार १५:५८ प्रकाशित