निष्पक्ष निर्वाचनको वातावरण अझै बनेको छैन : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । मुलुकको सार्वभौम संसद्लाई ध्वंसको माध्यमबाट बललफ्‌ती विघटन गरिए पछि देश सङ्कटतर्फ धकेलिएको उनको भनाइ छ ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी’ कार्यक्रममा उनले देशमा आई परेको सङ्कटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए ।

एमाले चुनावबाट नभाग्ने भएकाले देशैभर चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताए । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको उनको भनाइ छ । कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे ।

कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासामा ओलीले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेन्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पुर्याउन सुझाव पनि दिए ।

  • १५ फाल्गुन २०८२, शुक्रबार १५:०० प्रकाशित