अमेरिकी र इरानी अधिकारीबीच ६ घण्टा लामो वार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी र इरानी अधिकारीबीच ६ घन्टा लामो वार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी अधिकारीबीच लामो छलफल भए पनि सहमति भने नजुटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि वार्ता अवरूद्ध नभएको पनि अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ । दुई पक्षबीच अर्को साता पुनः वार्तामा बस्ने सहमति भएको छ ।

इरानी अधिकारीहरू र ओमानी मध्यस्थकर्ताहरूका अनुसार सम्भावित युद्ध टार्ने प्रयासस्वरूप संवादलाई निरन्तरता दिने समझदारी बनेको हो । बिहीबारको वार्ता बिहान र साँझ गरी दुई चरणमा भएको थियो ।

इरानका विदेशमन्त्री अब्बास अराक्चीले वार्तालाई सकारात्मक र प्रगतिशील भनेका छन्। उनले केही विषयमा समझदारी बनेको र केही विषयमा अझै मतभेद रहेको बताएका छन् । उनले प्राविधिक टोलीहरू आगामी सोमबार भियनामा संयुक्त राष्ट्रसंघीय आणविक निकायको मुख्यालयमा भेट्ने जानकारी दिए ।

अमेरिका र इरानबीच वार्ताको मध्यस्थता गरिरहेको ओमानका विदेशमन्त्री बदर अल्बुशैदीले वार्तामा तुलनात्मक प्रगति भएको बताएका छन् । अब भियनामा हुने आगामी चरणमा आणविक, बैंकिङ र प्रतिबन्धसम्बन्धी प्राविधिक विज्ञहरू पनि सहभागी हुने जनाइएको छ, जसले वार्ता प्राविधिक तहमा प्रवेश गरेको संकेत गरेको छ ।

वार्तामा अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नर सहभागी थिए । वार्ताको प्रगतिबारे विटकोफले अहिल्यै कुनै प्रतिक्रिया दिएका छैनन् । ह्वाइट हाउसले पनि वार्ताको अवस्थाबारे औपचारिक प्रतिक्रिया नदिएको न्युयोर्क टाइम्सले लेखेको छ ।

  • १५ फाल्गुन २०८२, शुक्रबार ०९:०१ प्रकाशित