शुक्रबार पोखरामा हुने काँग्रेसको चुनावी सभाको तयारी पुरा, १५ हजार नागरिकको सहभागीता रहने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली काँग्रेसले यहि फागुन १५ गते शुक्रबार पोखरामा आयोजना गर्न लागेको चुनावी सभाको तयारी पुरा भएको छ ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सभाको तयारीबारे जानकारी दिदैं प्रचारप्रसार सहसंयोजक दीपक माइला गुरुङले तयारी पुरा भएको बताएका हुन् । अमरसिंह चौरमा गर्ने चुनावी सभामा १५ हजार जनाको उपस्थिति रहने प्रचारप्रसार सहसंयोजक गुरुङले बताए ।

‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने संकल्पका साथ आयोजना हुन लागेको सो सभा दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ ।सभालाई नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्ने उनले बताए ।

बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिनु सभाको उद्देश्य रहेको जनाइएको छ।

सो सभालाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाको संयोजकत्वमा समिति गठन भएको छ । सो समितिको सदस्यहरुमा माया बराल क्षेत्री , दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ रहेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन निर्वाचन क्षेत्र मध्य क्षेत्र नं १ मा तिलक रानाभाट, क्षेत्र नं २ मा माधव प्रसाद बास्तोला मधु र क्षेत्र नं ३ मा मनोज गुरुङ र समानुपातिक तर्फ आई बहादुर गुरुङ उम्मेद्वार छन् ।

  • १३ फाल्गुन २०८२, बुधबार १७:०२ प्रकाशित