नेकपा बहुमतका मुख्य नेता खोज्दै प्रहरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का दोस्रो तहका मुख्य नेताहरूमाथि निगरानी बढाएको छ। महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेपछि पार्टी गतिविधि सञ्चालन गरिरहेका शीर्ष नेताहरूलाई निगरानीमा राख्दै प्रहरी सक्रिय भएको हो।

सरकारले घोषणा गरेको चुनावको औचित्य नभएको भन्दै नेकपा बहुमतसहित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टीसहितको केन्द्रीय संयुक्त सङ्घर्ष समितिले चुनाव बहिष्कारको नीति लिएको छ ।

यी समूहले चुनाव बहिष्कारको नीति लिएकै बेला गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन थप चुनाव–केन्द्रित सुरक्षा रणनीति बनाउने निर्णय गरेको छ। बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा गृह प्रशासनका उच्च अधिकारी सहभागी थिए।

बैठकले चुनाव प्रचारप्रसारका क्रममा देशका विभिन्न भागमा भएका गतिविधिको सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरेको एक उच्च अधिकारीले जानकारी दिए। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा चुनौती बढ्न सक्ने निष्कर्षसहित मजबुत र भरपर्दो शान्तिसुरक्षाको वातावरण तयार पार्ने निर्णय गरिएको जनाइएको छ। आवश्यक परे शीघ्र परिचालन हुने गरी विशेष जगेडा फोर्स निर्माण गर्ने निर्णयसमेत गरिएको छ।

सुरक्षा निकायका अनुसार निर्वाचन बहिष्कारको आह्वान गर्ने दल तथा समूहहरू नै प्रमुख चुनौतीका रूपमा देखिएका छन्। जसमा नेकपा बहुमतसहितको समिति र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान समेत चुनौतीको रुपमा रहेको बैठकमा निष्कर्ष निकालिएको बताइएको छ ।

महासचिव बास्तोला हाल प्रहरी हिरासतमा छन्। केन्द्रीय नेता गुणराज लोहनी, दीपक चलाउने र नरेन्द्र विकलाई लामो समयदेखि निगरानीमा राखी प्रहरीले खोजी गरिरहेको जनाइएको छ।

  • १३ फाल्गुन २०८२, बुधबार १४:२४ प्रकाशित