कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्दै (सुचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी प्रदेशमा चुनावी सभाको तयारी गरेको हो ।

ती चुनावी सभामा सभापति गगन थापा तथा निर्वाचन परिचालन समितिका संयोजक रहेका उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायतले सम्बोधन गर्ने छन् ।

उपसभापति भुसालका अनुसार ५ स्थानमा गर्ने ठुला चुनावी सभाको मिति निश्चित भएको छ । भुसालले फागुन १४ गते सुर्खेत, बाँके र रुपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने तय भएको जानकारी दिइन् । त्यस्तै गण्डकीको पोखरामा १५ गते चुनावी सभा गर्ने तय भएको छ । यसअघि नै काठमाडौँमा फागुन १७ गते चुनावी सभा गर्ने तय भएको छ ।

कोशी र सुदूरपश्चिममा गर्ने चुनावी सभाको मिति भने निश्चित भइनसकेको उपसभापति भुसालले जानकारी दिइन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले एकै दिन तीन स्थानका सभामा शीर्ष नेता सहभागी हुन हेलिकप्टर प्रयोग गरिने जानकारी दिए ।

  • १२ फाल्गुन २०८२, मंगलवार १२:०० प्रकाशित